४. किन खुल्ला डाटा?

खुल्ला डाटा, विशेष गरि खुल्ला सरकारी डाटा, धेरै हदसम्म प्रयोग नगरिएको एकदमै ठूलो स्रोत हो।धेरै व्यक्ति र संघसंस्थाहरूले आफ्ना कार्यसञ्चालनका निमित्त वृहद प्रकारका डाटाहरू सङ्कलन गर्छन्। सरकारले सङ्कलन गर्ने डाटाको मात्रा धेरै र केन्द्रीकृत भएकाले साथै प्राय जसो सरकारी डाटा कानुनत: सार्वजनिक डाटा हुने भएकाले यस सन्दर्भमा सरकार अझ महत्त्वपूर्ण छ। यो किन चासोको विषय हो ?

यस्तै धेरै क्षेत्र छन् जहाँ हामी खुल्ला डाटाको महत्त्व हुने आशा राख्न सक्छौ र जहाँ पहिले देखिनै खुल्ला डाटा प्रयोग गरिएका राम्रा उदाहारणहरू पनि छन्। यहाँ धेरै विभिन्न व्यक्ति र संगठनहरू छन् जसले खुल्ला डाटाको उपलब्धताबाट धेरै लाभ उठाउन सक्छन जसमध्ये सरकार आफैपनि एक हो। सँगसँगै भबिष्यमा कसरी र कहाँ सही तरिकाले खुल्ला डाटाको महत्त्व वा मूल्य बनाउन सक्छौ भन्ने कुराको अनुमान गर्न असम्भव छ। नवीनता को प्रकृति अनुरुप विकासक्रम अक्सर असम्भाव्य स्थानबाट आउँछ।

खुल्ला सरकारी डाटाले मूल्य र महत्त्वसिर्जना गर्ने क्षेत्रहरूको संख्या एकदमै ठूलो रहेको छ। तीमध्ये केही क्षेत्रहरू यसप्रकार छन्:

  • पारदर्शिता र लोकतान्त्रिक नियन्त्रण
  • सहभागिता
  • आत्म-सशक्तिकरण
  • सुधारिएको वा नयाँ निजी उत्पादन र सेवा
  • नवीनता
  • सरकारी सेवाहरूको कार्यकुशलता सुधार
  • सरकारी सेवाहरूको प्रभावकारिता सुधार
  • नीतिहरूको प्रभाव मापन
  • संयुक्त डाटा स्रोतहरूबाट नयाँ ज्ञान र ठूलो मात्राका डाटामा नयाँ स्वरुपहरू

उदाहरण

यति मात्र नभएर, खुल्ला सरकारी डाटाले तपाईंलाई आफ्नै जीवनमा पनि अझ राम्रो निर्णय गर्न मद्दत गर्नुका साथै समाजमा थप सक्रिय हुन सजिलो बनाउँछ। डेनमार्ककी एक महिलाले findtoilet.dk नामक वेबसाइट निर्माण गरिन जसले डेनमार्कका सबै सार्वजनिक शौचालयहरूका विवरण एकै ठाउँमा राख्यो, यसले गर्दा ब्लाडरमा समस्या भएका नागरिकहरूलाई निर्धक्क बाहिर घुमफिर गर्न आत्मविस्वास बढ्यो। त्यस्तै नेदरल्याणड्समा vervuilingsalarm.nl नामक एक सेवा छ जसले तपाईंको वरिपरिको वायु-गुणस्तर भोलिपल्ट खस्केर तपाईंले राखेको सीमा भन्दा बढि हुने भएमा तपाईंलाई सुचित गर्दछ। त्यस्तै न्युयोर्कमा तपाईंले कहाँ-कहाँ आफ्नो कुकुर डुलाउन पाउनुहुन्छ साथै एउटै पार्क अरु क-कसले प्रयोग गर्छन् जस्ता जानकारी सजिलै पाउन सक्नुहुन्छ। (वेलायतमा ‘mapumental’ र जर्मनीमा ‘mapnificent’ जस्ता सेवाहरुले तपाईले आफ्नो जागिरमा व्यतित गर्ने समय, घरको मुल्य साथै कुनै क्षेत्रको सुन्दरताका आधारमा बस्ने ठाउँहरु फेला पार्न मद्दत गर्छन्।) यी सबै उदाहरणहरूले खुल्ला सरकारी डाटाको प्रयोग गरेका छन्।

आर्थिक दृष्टिकोणबाट खुल्ला डाटाको महत्त्वएकदमै वृहत् रहेको छ। विभिन्न अध्ययनहरूले युरोपियन युनियनमा मात्र खुल्ला डाटाको आर्थिक मुल्य दशौँ अर्ब युरो रहेको आँकलन गरेका छन्। नयाँ कम्पनी र उत्पादनहरूले खुल्ला डाटालाई पुनःप्रयोग गरिरहेका छन्। डेनमार्कको husetsweb.dk ले तपाईंलाई आफ्नो घरको ऊर्जा दक्षता सुधार गर्न वित्तीय योजना र काम गर्न सक्ने निर्माताहरू पत्ता लगाउने लगायतका तरिका फेला पार्न मद्दत गर्दछ। यो कित्तानापीको जानकारी, सरकारी अनुदानको जानकारीको साथै स्थानीय व्यापार रजिस्टरको पुनःप्रयोगमा आधारित छ। गुगल ट्रान्सलेटले आफ्नो एल्गोरिदमलाई तालिम दिनका लागि युरोपियन भाषामा भएका युरोपियन युनियनका कैयौँ कागजात प्रयोग गर्दछ जसले अन्तत: यसको सेवाको गुणस्तर बढाउँछ।

खुल्ला डाटा सरकार आफैँका लागि पनि महत्वको विषय हो। उदाहरणका लागि यसले गर्ने सरकारको कार्यकुशलता अभिवृद्धिलाई लिन सकिन्छ। नेदरल्यान्ड्सको शिक्षा मन्त्रालयले आफ्ना शिक्षा सम्बन्धि सम्पूर्ण डाटालाई पुनःप्रयोगका लागि अनलाइन प्रकाशन गरेको छ। तब देखि, उनीहरूले पाउने प्रश्नको संख्यामा कमी आएको छ, जसले गर्दा कार्यभार र खर्च कम भएका छन् साथै सम्बन्धित डाटा कहाँ पाइन्छ भन्ने कुरा स्पष्ट भएकाले कर्मचारीहरूलाई समेत बाँकी प्रश्नहरूको उत्तर दिन सजिलो भएको छ। खुल्ला डाटाले सरकारलाई अझ प्रभावकारी बनाइरहेको छ जसले अन्तत: सरकारको खर्च घटाउँछ। डच सांस्कृतिक सम्पदा विभागले सक्रियताका साथ अाफ्ना डाटाहरू प्रकाशित गरिरहेका छन् साथै आफ्ना कार्यहरूलाई अझ प्रभावकारी बनाउन विकिमिडिया जस्ता नयाँ ऐतिहासिक समाज र समूहहरूसँग सहकार्य गरिरहेका छन्। यसले तिनीहरूका डाटाको गुणस्तर बढाउने मात्र नभई अन्तत: विभागलाई नै सानो बनाउनेछ।

खुल्ला डाटा सामाजिक र आर्थिक महत्वको विषय बनेकोले विभिन्नउदाहरणहरू भएको स्थितिमा अरु के कस्ता नयाँ कुराहरू सम्भव हुनसक्छन् भनेर यकिनका साथ भन्न सकिँदैन। डाटाका नयाँ मिश्रणले नयाँ ज्ञान र अन्तरदृष्टिको सिर्जना गर्छन् जसले यसको विलकुलै नयाँ प्रयोगका क्षेत्रतिर डोर्याउछन्। हामीले पहिले नै यस्तो देखिसकेका छौँ, उदाहरणका लागि डा. स्नोले लण्डनमा १९औँ शताब्दीमा हैजाले भएको मृत्युको डाटा र पानीको मुहानको स्थानको डाटा संयोजन गरेर खानेपानी, प्रदूषण र हैजाको सम्बन्ध पत्ता लगाए। यसलाई आधार मान्दै लण्डनमा ढल प्रणालीको विकास भयो जसले नागरिकहरूको साधारण स्वास्थ्यमा बृहद् सुधार आयो। विभिन्न खुल्ला डाटासेटहरूको मिश्रणले अनपेक्षित अंतर्दृष्टिको प्रवाह गर्ने भएकाले फेरि पनि हामीले यस्ता विकासक्रमहरू देख्ने प्रवल सम्भावना छ।

यदि हामीले सार्वजनिक सरकारी डाटालाई खुल्ला डाटामा परिणत गर्ने हो भने धेरै सम्भावनाहरू प्रस्फुटित हुनेछन्। यो तबमात्र सम्भव छ जब डाटा साँच्चै खुल्ला हुन्छन्, खुल्ला जहाँ त्यसको पुनःप्रयोगमा कुनै रोकतोक(कानूनी , आर्थिक वा प्राविधिक) हुने छैन। हरेक रोकतोकले आम जनताला‌ई सार्वजनिक डाटाको पुन:प्रयोगमा सामेल हुनबाट वञ्चित गर्छन् साथै त्यसो गर्ने उपायहरू अवलम्वन गर्न कठिन बनाउँछन्। खुल्ला डाटाको सम्भाव्यतालाई महसूस गर्न सार्वजनिक डाटा खुल्ला डाटा हुनु पर्दछ।